पोखरा ।
गत माघ १ गते पोखराको सेती खोचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएको नाममा घटनास्थलमा मौनधारण सभा हुने भएको छ ।
यति एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समाजले यहि माघ १३ गते मौनधारण सभा गर्न लागेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। मौनधारण सभामा सम्पूर्ण पोखरेलीलाई सहभागी हुन समाले अनुरोध गरेको छ ।मौनधारण सभा माघ १३ गते दिउँसो ४ बजेबाट सुरु हुने समाजले बताएको छ ।
यस्तै समाजले आज गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई भेटि दुर्घटनाको निस्पक्ष छानबिन र पीडित परिवारलाई उचित क्षतिपुर्तिका लागि केन्द्रीय सरकारसगँ पहल गरिदिन माग गरेका छन् ।
नागरिक समाजले प्रदेश सरकारको प्रमुख र नागरिकको संरक्षकको हैसियतले नागरिकका पीर, मर्का र गुनासालाई सम्बोधन गर्नका लागि समन्वय गरिदिन अनुरोध गरेको हो । नागरिक समाजका संयोजक कुसुम केशव पराजुलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा मृतक तथा शोकाकुल परिवारको शान्तिको लागि दुर्घटना स्थलमा स्मारक पार्क बनाउन पहल गर्न पनि भनिएको छ ।
यस्तै हाल सम्म पहिचान नभएका मृतकको शव यथासम्भव पहिचानका लागि प्रयत्न गरि मृतकका परिवारलाई हस्तान्तरण गराउन समन्वय गरिदिन अनुरोध गरेको छ ।
माघ १ गते गण्डकी प्रदेशको सदरमुकाम पोखराको सेतीनदीको खोचमा यति एयरलाईन्सको हवाई जहाज दुर्घटना हुदाँ ७२ जनाले ज्यान गुमाएका थिए ।















