जनकपुरधाम ।
भारतमा दुई नेपाली युवाको अपहरणपश्चात हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर गएका थिए । त्यहीँबाट अपहरणमा परेका हुन् । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको प्रहरीले जनाएको छ । अपहरणकारीले परिवारसगँ ५० लाख रुपैयाँ फिरौती मागेको र पछि २० लाखमा डिल पक्का भएको प्रहरीले जनाएको छ ।
घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।














