गण्डकी साक्षर प्रदेश घोषणा

केन्द्रभाग मिडिया

कास्की ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको छ ।आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो।पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार घोषणा भएको हो ।

गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६ दशमलव ५७ प्रतिशत रहेको छ ।

गएको भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।

शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५।५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ ।

मुस्ताङ ९६ दशमलव ३५, स्याङ्जा ९६ दशमलव १६, कास्की ९६, तनहुँ ९६ दशमलव चार, बाग्लुङ ९६ दशमलव ५७, मनाङ ९६ दशमलव नौ, गोरखा ९७ दशमलव दुई, म्याग्दी ९६ दशमलव २७ र पर्वत ९६ दशमलव ९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ ।

जिल्लागतरुपमा सबै जिल्ला यसअघि नै साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । २०७१ साल असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ साल माघ १८ मा घोषणा भएको थियो ।

सरकारले सबै नागरिकलाई साक्षर बनाउन र विद्यालय जाने उमेरका पाँच वर्षमाथिका बालबालिकाका लागि विद्यालय भर्ना अभियान गएको वर्ष सञ्चालन गरेको थियो । पन्ध्र वर्ष वा त्यसभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षर बन्ने अवसर प्रदान गरी साक्षर नेपाल घोषणाको नीति सरकारको रहेको छ ।

यस पहिले प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका थिए ।

प्रधानमन्त्री देउवा आज पोखरा नै बस्ने कार्यक्रम छ।

  • २४ आश्विन २०७८, आईतवार १३:४९ प्रकाशित