पोखरा महानगरपालिकाको नगर सभा स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
वडाध्यक्षले सदस्यलाई जातिय विभेद गरेको विषयले पोखरा महागनरपालिकाको १२ औँ नगरसभा स्थगन हुन पुगेको छ । जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्नुपर्ने भन्दै कार्यापालिका सदस्यले रोष्टममा पुगेर भाषण गरे पछि पोखरा महानगरको नगरसभा स्थगन हुन पुगेको हो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभाको कार्यसूची भन्दा वाहिर गएर कार्यपालिका सदस्यले रोष्टमबाट भाषण गरेको भन्दै सभा बहिष्कार गरे ।

पोखरा महानगपालिका वडानम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातिय विभेदको गरेको भन्दै दलित जनप्रतिनिधि कालोपट्टी बाधेर नगर सभामा उपस्थित भएका थिए । दलित जनप्रतिनिधिले नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तब्य राखे लगत्तै उठेर सभा अवरुद्ध गरेका थिए ।

मेयर धनराज आचार्यले उनीहरुलाई बस्न आग्रह गरे पनि प्लेकार्डसहित उपस्थित भएका दलित जनप्रतिनिधिले केही बोल्न छ भन्दै बोल्ने समय मागे । कार्यपालिका सदस्य समेत रहेका दिपक घिमिरे विश्वकर्मा रोष्टमा पुगेर जातिय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग गरे ।
विश्वकर्माले नगरसभाको कार्यसूचीभन्दा वाहिर गएर रोष्टम प्रयोग गरेको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उनी बोल्दा बोल्दै उठेर नगरसभाबाट बाहिरिएका थिए । विश्वकर्मा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

आरोपित अधिकारी जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । वडासदस्य मैया नेपालीलाई अपशब्द बोलेर जातिय विभेद गरेको भन्दै उजुरी दिए पछि उनि आज प्रहरीको हिरासमत पुगेका हुन् । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

  • २६ पुष २०७९, मंगलवार १८:२२ प्रकाशित