सरकारको नयाँ कार्यक्रम ‘पढदै, कमाउँदै’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले ‘पढदै, कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिए । शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिईरहेको पनि दोहोर्याए। उनले हाम्रो विकासको मोडल सामूदायमा आधारित हुनुपर्ने आवश्यक्ता औंल्याए ।

अर्थमन्त्री शर्माले भने, ‘अहिले म अर्थमन्त्री भएको बेला ‘पढ्दै,कमाउँदै’ भन्ने कार्यक्रम संचालनमा ल्याउने गरी तयार भएको छ । त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ । त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्यो, हाम्रो शिक्षा । नेपालमा समूदायमा आधारित शिक्षा उपयुक्त छ । शिक्षा क्षेत्र पनि समूदायले चलाएको हो । समूदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिवद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवन उपयोगी हुनेछ ।’

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए । उनले शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए ।

  • २३ आश्विन २०७८, शनिबार १५:११ प्रकाशित