घरसंगै जलेर निवर्तमान वडाध्यक्ष सुरज गुरुङको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष सुरज गुरुङको निधन भएको छ । सिक्लेस निवासी उनको आइतबार आफ्नै घरमा आगलागी हुँदा घरसंगै जलेर निधन भएको हो ।

आइतबार राति पौने ९ बजे उनको घरमा आगलागी हुँदा भित्रै रहेका गुरुङको घरसंगै जलेर ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । नेकपा एमाले कास्कीका अध्यक्ष एवं कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका मनबहादुर गुरुङले आगलागीबाट सुरज गुरुङको ज्यान गुमेको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले गुरुङको निधनले कास्कीको बाम आन्दोलनमा समेत ठूलो क्षती पुगेको बताए ।

स्वर्गीय सुरज गुरुङ नेकपा एमाले कास्की जिल्ला कमिटीका सल्लाहकार परिषद सदस्य रहेको एमाले नेता एवं कास्की क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्य रहेका बेदबादुर गुरुङले जानकारी दिए । ‘उहाँ मेरो कार्यकालको सहकर्मी हो । वडा नम्बर १ बाट उहाँ निर्वाचित हुँदा म मादी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको थिएँ । उहाँ एमाले जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य पनि हो’ उनले भने । स्वर्गीय गुरुङका दुई छोरा र तीन छोरी रहेका छन् ।

प्रहरीका अनुसार सुरज गुरुङको ढुंगोमाटोले बनेको टिनले छाएको दुई तले घर र टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपात देखि सबैकुरा जलेर नष्ट भएको उनले जानकारी दिए ।

  • १८ पुष २०७९, सोमबार ०८:५३ प्रकाशित