पोखरा ।
१९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् ।
शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए ।
सिंगल्सका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि बिजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए ।
तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे । सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् ।
यता उमेन्सतर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् ।
उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् ।