बुद्धले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

बुद्ध एयरले आफ्ना सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।यही पुस १७ गतेदेखि बुद्धले सबै उडान नयाँ एयरपोर्टबाट गर्ने तयारी गरेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ ।

भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ ।

उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ ।

  • १३ पुष २०७९, बुधबार १६:२१ प्रकाशित