गण्डकीका जेष्ठ सदस्य बस्यालले पौष १३ गते शपथ ग्रहण गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका जेष्ठ सांसद मित्रलाल बस्यालले पौष १३ गते शपथ ग्रहण गर्ने भएका छन् ।जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ ग्रहण गरे पछि जेष्ठ सदस्यले अन्य सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

पर्वत निर्वाचन क्षेत्र १ (२)बाट निर्वाचित सांसद मित्रलाल बस्याल गण्डकी प्रदेश सभाका जेष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउने छन । बस्याल नेकपा एमालेबाट निर्वाचि सांसद हुन् ।

जेष्ठ सदस्य बस्यालले शपथ ग्रहण गरे पछि पौष १४ गते निर्वाचित ५९ सदस्यलाई प्रदेश सभा भवन परिसर पोखरा नदिपुरमा सपथ ग्रहण गराउने छन् । १४ गते १ बजे प्रदेश सभा भवन परिसरमा शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

निर्वाचन आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको छ । संविधान अनुसार निर्वाचनको अन्तिम मत परिणाम आएको मितिले २० दिनभित्र पहिलो बैठक बोलाउनुपर्छ । गण्डकीमा भने शपथ पछि नै सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ । गण्डकीमा कुनैपनि पार्टीको एकल सरकार बन्ने अवस्था छैन । त्यसैले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन हुनेछ ।

गण्डकीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । माओवादीले भने अब आफ्नो पालो भएको दाबी गरेको छ । गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो, २२ सीट सहित एमाले दोस्रो, ८ सीट सहित माओवादी तेस्रो, २ सीट सहित राप्रपा चौथो र १ सीटको एकीकृत समाजवादी पाचौँ पार्टी बनेको छ । मनाङबाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

  • ६ पुष २०७९, बुधबार १५:१२ प्रकाशित