गौरादह ।
झापाको मेचीनगरस्थित चारआली जङ्गलमा एक दम्पतीको शव भेटिएको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु लिम्बु मृत भेटिएको प्रहरीले जनाएको छ ।
लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
प्रहरीको अनुसार पुरुष झुन्डिएको र महिला भुईँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ । प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, रस्सी फेला पारेको छ ।
सोमबार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेको जनाइएको छ ।














