नगरहरुलाई व्यवस्थित र आर्थिर्क कारोबारको केन्द्र बनाउन लागी पर्नुस : प्रम देउवा

केन्द्रभाग मिडिया

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरुलाई मौलिकता जोगाउँदै व्यवस्थित शहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् ।

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउन सुझाव दिए ।

‘काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ । तसर्थ सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु’ प्रधानम्न्त्री देउवाले भने ।

शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको भन्दै देउवाले यसले नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको बताएका छन् ।

सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजान पनि उनले सुझाव दिए ।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर पूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको पनि बताए ।

  • ४ पुष २०७९, सोमबार १३:४६ प्रकाशित