निर्वाचनको अन्तिम परिणाम घोषणा: प्रतिनिधिसभामा पुरुष ६६, महिला ३३ प्रतिशत निर्वाचित

केन्द्रभाग मिडिया

निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको निर्वाचनको परिणाम घोषणा गरेको हो ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १) प्रतिशत निर्वाचित भएका छन् भने प्रदेश सभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत)निर्वाचित भएका छन् ।

आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम मंसिर २९ गते राष्ट्रपति समक्ष मत परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाएको छ ।

साथै आगामी पुस २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका माननीय प्रदेश प्रमुखहरू समक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

  • २८ मंसिर २०७९, बुधबार १५:४५ प्रकाशित