क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले सविक उपविजेता रहेको क्रोएसियालाई ३–० गोल अन्तरको जित हात पादै फाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए ।

खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ । यो उसको लगातार तेह्रौं विश्वकप हो । दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो ।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन । कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने सम्भावना छ । पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ ।

क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्सविरुद्ध २–० को अग्रता बनाइसकेको थियो। तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा पुग्यो र जितका लागि पेनाल्टीको सहारा लिनुपर्‍यो।

त्यसअघि भने अर्जेन्टिनाले हरेक टोलीलाई २ गोल हानेको छ। समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पोल्यान्डलाई पनि सोही अन्तरमा हराएको थियो। अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराएको थियो।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो । १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो।

  • २८ मंसिर २०७९, बुधबार ०६:२१ प्रकाशित