स्याङ्जा–२ र बाजुराको निर्वाचनमा विवाद हुदाँ त्यहाँको मतगणनामा अन्योल देखिएको छ। विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा मतगणना अन्योल बनेको हो ।
मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन नसकेको हो ।
दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरुले गएराति अबेरसम्म छलफल गरेको बताइएको छ । यद्यपि छलफलले कुनै निर्णय गर्न सकेन ।आज(बुधबार) फेरी यसबारे छलफल गरेर निर्णय गर्ने आयोगको तयारी छ ।
स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।
स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस्तो पत्र लेखेका हुन् । सबै मतपेटिकाहरु सुरक्षित रुपमा मतदान अधिकृतले प्रक्रियागत रुपमा बुझाइसकेको अवस्था देखिएका, कानुनी प्रक्रिया पूरा गरी कागजातसहित मतदान अधिकृतले ल्याएको मतपेटिकाहरु कांग्रेस, एमालेसमेतका प्रतिनिधिको रोहोवरमा निर्वाचन अधिकृतको कार्यालयले बुझी भरपाई गरिदिएको पृष्ठभूमिमा आयोगको छानबिन टोलीे त्यस क्षेत्रको सबै वा कुनै पनि निर्वाचन रद्द गराउन नसक्ने अवस्था देखिएको ठहर गर्दै कांग्रेसले गणन प्रक्रिया अघि बढाउन माग गरेको हो ।













