‘आफू मात्रै होइन गठबन्धनकै पराजयको जिम्मेवारी सभापति बरालजीले लिनुपर्छ’

केन्द्रभाग मिडिया

राजनीतिक संस्कार ठूलो कुरा हो । जिम्मेवारी बहन गर्ने कुरा महत्वपूर्ण हो । त्यसमा हाम्रो सभापतिजी चुक्नुभयो भन्ने मलाई लागेको छ । उहाँ सिंगो गठबन्धनको नेतृत्व हो । त्यहीढंगले प्रस्तुत हुनुपर्नेमा कांग्रेसको नेताको रुपमा पनि प्रस्तुत हुन चुक्नुभयो । अरुपनि कारणहरु छन् । यस विषयमा गठबन्धन र खासगरी हाम्रै पाटी भित्र पनि गम्भिर समिक्षा हुन जरुरी छ ।

 – कृष्ण केसी निवर्तमान सभापति, कास्की कांग्रेस

कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र प्रदेश तर्फ गठबन्धनका अरु उम्मेद्वार समेत पराजित भएपछि कास्की कांग्रेस भित्र व्यापक अन्तरघात भएको भन्दै असन्तुष्टि बढेको छ । पार्टीका निवर्तमान सभापति कृष्ण केसीले आफ्ना उम्मेदवारलाई सहयोग नगरेको र विपक्षीसंग मिलेर हराएको आरोप लगाउँदै उनको घर बाहिर कांग्रेस कार्यकर्ताले नारावाजी समेत गरेका छन् ।

यता निवर्तमान सभापति केसीले आफूले अन्तरघात गर्ने विषय सोच्न समेत नसक्ने विषय रहेको प्रतिक्रिया साबधान खबरलाई दिएका छन् । उनले यस्तो आरोपलाई ‘अराजनीतिक’ भनेका छन् । केसीले आफ्नो जिल्ला सभापति मात्र नभई सिंगो गठबन्धनको पराजयको जिम्मेवारी ठूलो पार्टी र त्यसको सभापतिको हैसियतमा कांग्रेस र सभापति बरालले लिनुपर्ने धारणा राखे । प्रस्तुत छ हाल काठमाडौंमा रहेका कांग्रेस निवर्तमान सभापति केसीसंग टेलिफोनमा गरिएको संक्षिप्त कुराकानी ।

  • तपाईको पार्टीे नेतृत्वमा रहेको गठबन्धनले कास्कीका २ प्रदेश सभा सदस्य बाहेक सबैमा पराजय भोग्यो । यसलाई कसरी लिनुभएको छ ?

हामीले प्रतिनिधिसभा र प्रदेशसभा गरेर सबै ९ सिट नै जित्नुपर्ने थियो । यसमा चुकेका छौं । जनमत यो खालको होइन । हाम्रो पार्टीको वास्तविक जनमत र अझ गठबन्धनको मर्म अनुरुपको भोट आएन । मैले यसलाई अस्वभाविक पराजयको रुपमा लिएको छु । खासमा हामीले कास्कीमा ठूलो अवसर गुमाएका छौं ।

  • गठबन्धन भनेपनि कास्कीमा अरु दलको प्रभाव त्यति देखिन्न । कांग्रेस भित्रको असन्तुष्टि नै गठबन्धनका उम्मेदवार हार्नुको कारण हो भन्ने विश्लेषण छ नि ?

यसमा सत्यता पनि हुन सक्छ । कांग्रेसको नेतृत्वमा गठबन्धन अगाडि बढेको हो । हाम्रो शक्तिमा उहाँहरुले केही थप्दा नै यहाँ जीत निकाल्ने हो । स्थानीय तहको निर्वाचनको परिणाम हेर्दापनि गठबन्धन दलमा इमान्दारिता भएको भए यस्तो परिणाम नआउनुपर्ने पर्ने हो । तर परिणाम सुखद् आएन । यो गम्भिर समिक्षाको विषय हो ।

जनता र पार्टीका नेता कार्यकर्तामा भरोसा दिलाउन सकिएन भन्ने लाग्छ । उम्मेदवार छनोटमा गठबन्धनमा आवद्ध सबैजसो दलमा केही कमिकम्जोरी पनि भयो भन्ने महसुस् भएको छ । जुनढंगले सबैकुराको व्यवस्थापन हुनुपर्ने थियो, त्यो नभएकै भएर पराजय भोग्यौं । नत्र त परिणाम सुखद आउने थियो नि । हामीले दुई सिटमा चित्त बुझाउनुपर्ने बाध्यता आउने नै थिएन ।

‘अराजनीतिक’ टिप्पणी मलाई सुन्नुपनि छैन । अघिल्ला १० वर्षमा जस्तो सक्रियता ममा थियो त्यो भएन होला । तर, मेरो पार्टी र मेरो पार्टीसहित अहिले गठबन्धनका प्रत्येक उम्मेदवारका पक्षमा म लागेको हुँ ।  म राजनीतिक संस्कार भएको मान्छे हुँ । राजनीति आजको क्षेणिक आवेग र उत्तेजनाले चल्ने हो र ? मान्छेहरु यस्ता कुरा कसरी सोच्न सक्छन र आरोप लगाउँछन् ? यस्ता गैरजिम्मेवार कुरा यदि कुनै जिम्मेवार मान्छेले गरेको छ भने त्यसलाई उहाँहरुले पुष्टि पनि गर्नुपर्ने होला नि ।’

 

  • कास्की १ मा गठबन्धनको जीत निस्चित थियो । तपाईकै असहयोगका कारण त्यहाँ पराजय भोगेको हो भन्ने व्यापक चर्चा भयो त ?

म कांग्रेस र कांग्रेसका उम्मेदवार हराउन लाग्ने कुरा कल्पना बाहिरको कुरा हो । यस्ता ‘अराजनीतिक’ टिप्पणी मलाई सुन्नुपनि छैन । अघिल्ला १० वर्षमा जस्तो सक्रियता ममा थियो त्यो भएन होला । तर, मेरो पार्टी र मेरो पार्टीसहित अहिले गठबन्धनका प्रत्येक उम्मेदवारका पक्षमा म लागेको हुँ । म राजनीतिक संस्कार भएको मान्छे हुँ । राजनीति आजको क्षेणिक आवेग र उत्तेजनाले चल्ने हो र ? मान्छेहरु यस्ता कुरा कसरी सोच्न सक्छन र आरोप लगाउँछन् ? यस्ता गैरजिम्मेवार कुरा यदि कुनै जिम्मेवार मान्छेले गरेको छ भने त्यसलाई उहाँहरुले पुष्टि पनि गर्नुपर्ने होला नि ।

  • तपाईँले विपक्षीसंग ७० लाख रुपयाँ बुझेर आफ्नै उम्मेदवार विरुद्ध घात गरेको भन्दै कार्यकर्ताले घर घेराउ गरेको र नारावाजी गरेको देख्नुभएन र ?

यस्ता नित्किृष्ट आरोप लगाउनेहरुले आरोप पुष्टि गर्नुपर्छ । आजको पार्टी नेता कार्यकता र जनता मुर्ख छैनन् । कसले के भूमिका खेल्छ र के गर्छ भन्ने सबै जानकारी मै हुन्छ । पार्टीमा जिम्मेवारढंगले गम्भिर समिक्षा हुनुपर्छ । यस्ता आरोप कसैले पुष्टि गरोस्, कृष्ण केसीले तत्काल राजनीतिबाट सन्यास लिन्छ । पार्टीको एक जिम्मेवार सिपाईलाई यो ढंगको लाल्छना लगाउनु र घरमै पुगेर अराजकता प्रदर्शन गर्नुले मेरो भन्दा पनि मेरा विरुद्ध लाग्नेहरुकै बदनाम हुने हो ।

  • तपाईले अगाडि उम्मेदवार छनोटमा पनि केही कम्जोरी भए भन्नुभएको यियो । तपाई पनि आकांक्षी हुनुहुन्थ्यो । त्यही भएर पनि संका गरेका हुनसक्छन् । खासमा के कम्जोरी भयो जसका कारण यो ढंगको यहाँहरुले पराजय भोग्नु पर्ने अवस्था आयो ?

उम्मेदवार छनोटमा भएको कम्जोरी र हाम्रो नेतृत्वको अपरिपक्कता यसमा धेरै जिम्मेवार छ । कि गठबन्धन गर्नुहुने थिएन । गरेपछि इमान्दारिता देखिनुपर्ने थियो । त्यस्तो इमान्दारिता देखिएको भए हाम्रो किशोरजी मात्र होइन । प्रदेश २ मा श्रीनाथजी, ३ मा रामजी बरालजीले पनि चुनाव हार्नुपर्ने थिएन । दुर्गा भण्डारीले चुनाव हार्नुपर्ने कारण के थियो र ? जिल्ला सभापतिले परिस्थितिको विश्लेषण गरेर उम्मेदवार यता उता गराउनुपर्ने थियो । क्षेत्र नम्बर ३ मा दुर्गाको ठाउँमा कांग्रेसकै अर्को कुनै पात्र ल्याउनुपर्ने थियो । जव दुर्गाजी नै आएपछि पनि इमान्दारिता देखाउनुपर्ने थियो । उहाँको ठाउँमा गठबन्धन हार्ने जनमत हो र ? कास्की १ मा पनि हामीले हार्नुपर्ने कुनै कारण थिएन ।

जनताले चिनेका अनि अल्लि धेरै पार्टीमा संगठन निर्माण र जनतामासंग जोडिएका उम्मेदवार ल्याउन नसक्दा पनि समस्या आएको हुनुपर्छ भन्ने मेरो विश्लोषण हो । अरुपार्टीले दिएको उम्मेदवारीको विषयमा कस्तो पात्र ल्याउनुभया भन्ने म टिप्पणी गर्दिन । त्यसमा हाम्रो इमान्दारिता कति रह्यो भन्ने हो । हाम्रो सभापति किशोरदत्त बरालजी, श्रीनाथजी वा रामजी बरालजी भन्नुस् उहाँहरु सबैको पराजयको जिम्मा हामीले हाम्रो पार्टीले र अझ त्यसको नेतृत्वको हिसावले किशोरजीले लिनुपर्छ । त्यसका लागि उहाँले के भूमिका खेल्नुभयो भन्ने पनि होला नि । निर्वाचन हार्नु जित्नु ठूलो कुरा होइन । यस अगाडि मैले पनि पराजय भोगेकै हो ।

राजनीतिक संस्कार ठूलो कुरा हो । जिम्मेवारी बहन गर्ने कुरा महत्वपूर्ण हो । त्यसमा हाम्रो सभापतिजी चुक्नुभयो भन्ने मलाई लागेको छ । उहाँ सिंगो गठबन्धनको नेतृत्व हो । त्यहीढंगले प्रस्तुत हुनुपर्नेमा कांग्रेसको नेताको रुपमा पनि प्रस्तुत हुन चुक्नुभयो । अरुपनि कारणहरु छन् । यस विषयमा गठबन्धन र खासगरी हाम्रै पाटी भित्र पनि गम्भिर समिक्षा हुन जरुरी छ ।

 

 

 

 

  • ९ मंसिर २०७९, शुक्रबार १५:२४ प्रकाशित