बेनी अस्पतालमा चिकित्सकको धर्ना, बिरामी मर्कामा

केन्द्रभाग मिडिया

बेनी ।

बेनी अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । तीन महिनादेखि रोकिएको तलब चाडपर्वको मुखमा पनि नपाएको भन्दै कर्मचारीहरु आज आन्दोलनमा उत्रेका हुन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले अस्पतालमा धर्ना दिदैँ आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । आन्दोलनका कारण दुर्गम भेगबाट घण्टौँ यात्रा गरेर उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका छन् । कर्मचारीले बहिरंग, ल्याव, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् ।

तीन महिनादेखि नपाएको तलबबारे व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक पटक आग्रह गर्दा सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको कर्मचारी बताउँछन् । सो अस्पतालले ६४ शैय्याबाट उपचार सेवा दिदैँ आएको छ ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिना यता कसैले पनि तलब पाएका छैनन् । नियम अनुसार मासिक रुपमा तलब भत्ता बितरण हुनुपर्ने हो । अस्पतालमा प्रसुति सेवा लिएका सुत्केरीहरुले पाउनुपर्ने आमा सुरक्षा कार्यक्रमको भत्ता वितरण भएको छैन् ।

गण्डकी प्रदेश सरकार अन्तरगतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाई भएपनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले बताए ।

  • २० आश्विन २०७८, बुधबार १४:०४ प्रकाशित