पोखरा ।
प्रतिनिधिसभाको सुरुवाती परिणाम आइरहँदा नेकपा एमालेका पाँचजना पदाधिकारीहरु पछि परेका छन् । प्रारम्भिक मतगणनामा एमालेका ५ पदाधिकारीले आफ्नो पक्षमा नतिजा ल्याउन नसकेको देखिएको हो।
दाङ क्षेत्र नम्बर २ मा पनि एमाले महासचिव शंकर पोखरेल पछि परेका छन् । त्यहाँ उनी ६ सय ४ मतान्तरले पछाडि परेका छन्। दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ हजार ४ सय ५० मत पाएकी छन्। यता एमाले महासचिव पोखरेलले ८ सय ४६ मत प्राप्त भएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछि पारेका छन् । पछिल्लो परिणाम अनुसार त्यहाँ १९०३ गन्दा ५१६ मतसहित पौडेल अगाडि छन् । त्यहाँ पोखरेलले ४३३ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि रूपन्देही क्षेत्र नम्बर २ मा पछि परेका छन् । उनलाई त्यहाँ कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका छन् ।
पौडेलले १२६ मतसहित पहिलो स्थानमा रहँदा एमालेका पौडेल ८६ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै यहाँ सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा ७८ मतसहित तेस्रो स्थानमा छन् ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पछि परेका छन् । पूर्वसभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले सुरुबाटै पछि पारेका हु्न्।
६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन्।
उता चितवन क्षेत्र नम्बर १ मा अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पछि परेका छन् । त्यहाँ कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन्। ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएर तेस्रोमा छन् ।













