बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

१८ वर्ष मुनिका बालबालिकाका लागि दिइने कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दशैं लगत्तै खोप लगाउने तयारी गरिरहेको छ । सो खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका हुन ।

नेपाल सरकारले हाल फाइजर र मोडेर्ना खोप आयात गर्नका लागि पहल अघि बढाएको अधिकारीहरुले बताएका छन।

मोडेर्नाको लागि सरकारले शुल्क तिरिसकेको र फाइजर खोप खरिदका लागि छलफल भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले फाइजर खोपको ६० लाख मात्रा खोप लिने गरी तयारी अघि बढाएको छ।

गत अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व बैंकले जनाएको थियो।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् विश्व बैंकको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बैंकले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपसम्बन्धी विज्ञ समितिका संयोजक डा। श्यामराज उप्रेतीका अनुसार नेपाललाई राष्ट्रसङ्घीय बालकोष यूनिसेफमार्फत् गाभीले एक लाख मात्रा खोप चाँडै नै दिँदैछु।

गाभीमार्फत् नेपालले प्राप्त गर्ने भनिएको खोप फाइजर रहेको उनले जानकारी दिए।खोप आउने भएपछि कोल्ड चेन कसरी व्यवस्थापन गर्ने र प्रोटोकल कसरी बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण खोप फाइजरको रहेको विज्ञहरू बताउँछन्।हाल नेपालसँग माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने फाइजर खोप राख्न सकिने चारवटा मात्रै फ्रिज उपलब्ध रहेको विभागले जनाएको छ।

चारवटा पनि १००/ १०० लिटरको मात्रै रहेको र अल्ट्रा कोल्ड चेन उपकरणहरू नल्याउँदा एक लाखसम्म मात्र खोप एक पटकमा दिन सकिने अधिकारीहरु बताउँछन् ।

  • २० आश्विन २०७८, बुधबार १०:०३ प्रकाशित