पोखरा ।
बर्खास्तीमा परेका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्रीलाई धम्की दिएका छन् ।
खड्काले आफुलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ, भिडिओ ल्याउने धम्की दिएका हुन् ।पत्रकार सम्मेलनमा खड्काले भने, ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईंहरुले भन्ने सनसनी अडिओ, भिडिओ ल्याउँछु ।’
मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए ।माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने पोखरेलको योजनामा आफुले विरोध गरेकाले पनि आफुलाई बर्खास्त गरेको हुन सक्ने आशंका खड्काले गरे । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको उनले बताए ।













