पोखरा ।
ल्याण्डफिल साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको तर, निस्कर्षमा पुगिनसकिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताका छन् । उनले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पारे ।
‘आगामी १ जनवरी बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, मेयरआचार्यले भने, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन, स्वाभाविक रूपमा हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ, स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शङ्का गर्नुभएको छ, यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ, तर हामीले ल्याण्डफिल साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ निर्णय भैनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा भ्रम छर्ने काम नगर्न उनले सम्बन्धित सबैलाई आह्वान समेत गरेका छन् ।
तर, हाल पोखरा १४ को ल्याण्डफिल साइडमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने उनले स्पष्ट पारे । ‘साँचो कुरा के हो भने अहिले हामीले वडा नं.१४ मा जस्तो गरेर डम्पिङ साइड बनाउने होइन, अव जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिन्छ, त्यो औद्योगिक क्षेत्र भित्र पनि राख्न सकिन्छ, बस्तीकै बीचमा पनि राख्न सकिन्छ, त्यस कारण यसको विषयमा तर्सनु पर्ने कुनै कारण छैन, प्लान्ट कस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर हामीले जानकारी गराउँछौँ ।’ तर, निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकहरूमा भ्रम सृजना गर्ने कार्य तत्काल बन्द गर्न उनले सचेत गराए ।
पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्त्वपूर्ण कुराहरू सारा पोखरेलीहरूको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने उनले बताए। राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने मेयर आचार्यले बताए ।
क्यालीब्रेसन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पुरै सहयोग गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरे । ‘हाल रिठ्ठेपानीको डाँडा कटानको काम भइरहेको छ, त्यहाँको माटोले हाल सञ्चालनमा रहेको ल्याण्डफिल साइड पुर्ने काम जारी छ, केही दिनमा क्यालीब्रेसन फ्लाइट समेत हुदैँछ, मेयरआचार्यले भने, हामी ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने क्रममा छौँ, यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले ल्याण्डफिल साइटको व्यवस्थापन गर्दैछौँ ।’ सुरुमा अल्पकालीन र पछि दीर्घकालीन व्यवस्थापन गरिने बताउँदै उनले विमानस्थल सञ्चालनका लागि कुनै हालतमा व्यवस्थापन गर्ने उनले अठोट व्यक्त गरे ।













