चित्रबहादुर केसी नेतृत्वको गठबन्धनलाई मत हाल्न पूर्व एमाले नेता ढकालको आह्वान !

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन गठबन्धन छ । उक्त गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । स्वभाविक रुपमा ठूलो दल भएको नाताले गठबन्धनको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । अर्को तर्फ नेकपा एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल र नेपाल परिवार दल लगायतका सदलहरु गठबन्धनमा आवद्ध छन् ।

स्वभाविक रुपमा यो गठबन्धनको नेतृत्व ठूलो दल भएको नाताले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । तर, नेकपा एमालेका पूर्व नेता त्रिलोचन ढकालले सत्ता गठबन्धन दलको नेतृत्व राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु केसी र अर्को गठबन्धनको नेतृत्व राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका कुनैबेलाका प्रभावशाली नेता ढकालले आफू हाल स्वतन्त्र रहेको दाबी गर्दै केसी नेतृत्वको गठबन्धन दललाई मत दिन आह्वान गरेका छन् । थापा नेतृत्वको गठबन्धन प्रतिगामीको र केसी नेतृत्वको गठबन्धनलाई उनले अग्रगामी भनेका छन् ।

‘म कुनै पनि पार्टीमा छैन । स्वतन्त्र व्यक्ति हुँदाहुँदै पनि देश र जनताप्रतिको दायित्व तथा क्रान्तिका उपलब्धिहरूको रक्षाको कर्तव्यले मलाई जाग्रित गराएको छ ‌र यो विचार सार्वजनिक गरेको छु ।

२०७९ मङ्सिर ४ गते मतदान हुने संसदीय निर्वाचनमा भाग लिन दुईवटा गठबन्धन अभियानमा छन् । एउटा हो कमलथापाको गठबन्धन । यसमा कमल थापा (राप्रपा नेपाल), लिङ्देन (राप्रपा), हृदयश त्रिपाठी (मधेश केन्द्रित व्यक्ति), एकनाथ ढकाल (परिवार दल), उपेन्द्र यादव (सङ्घीय समाजवादी) र गणतन्त्र ल्याउँछु भन्नु त गोरु गाडामा अमेरिका जान्छु भने जस्तै हो भन्ने केपी शर्मा ओली (एमाले) समाविष्ट छन् । यो स्वाभावैले प्रतिगमनकारी गठबन्धन हो भन्ने प्रमाणित छ ।

दोस्रो हो चित्रबहादुरको । यसमा चित्रबहादुर (नेकपा मसाल), बाबुराम भट्टराई (समाजवादी पार्टी), माधव नेपाल (नेकपा एकीकृत समाजवादी), पुष्पकमल दाहाल (नेकपा माओवादी केन्द्र) र शेरबहादुर देउवा (नेपाली कांग्रेस) हरू सामेल छन् । यही (कांग्रेस र कम्युनिस्ट) गठबन्धनको नेतृत्वमा सुसम्पन्न जन आन्दोलन, २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था समाप्त गर्न, ०६२/०६३को जनक्रान्ति सम्पन्न गर्न, २०६५ सालमा राजतन्त्रको उन्मूलन गर्न र २०७२ सालमा समाजवाद उन्मुख संविधान निर्माण गर्न सफल भएको छ ।
यो वर्तमानको सापेक्षतामा क्रान्तिकारी गठबन्धन हो । यही गठबन्धनका पक्षमा मतदान गरेर, यो गठबन्धनलाई विजयी गराउनु हुन सम्पूर्ण नेपाली जनताको कर्तव्य भएर आएको छ । यहि कर्तव्य पूरा गर्नको निम्ति सम्पूर्ण नेपाली जनतासँग हार्दिक अनुरोध गर्दछु ।’

  • २९ कार्तिक २०७९, मंगलवार १०:२० प्रकाशित