पोखरा ।
नेपाली कांग्रेसका नेता राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेल र अर्थविद् स्वर्णीम् वाग्लेले गठबन्धनका उम्मेदवारसंगै पोखरामा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । पोखरेल र वाग्लेले स्थिर सरकार र जनअपेक्षा पूरा गर्न गठबन्धनको जित जरुरी भएको बताए । बारम्बार जननिर्वाचित संस्था विघटन गर्ने र व्यक्तिवादी शैलीले देश बर्बादीको बाटोमा जाने दाबी गर्दै जनताले देश जोगाउने शक्तिको पक्षा लिने पोखरेलले विश्वास व्यक्त गरे ।
बारम्बार बदलिने सरकार र सधै उस्तै रहने मतदाताको अवस्थाले धेरै नेपाली दिक्दार भएको वाग्लेले बताए । पटक पटक व्यवस्था परिवर्तनका लागि नेता, कार्यकर्तासँगै कहिले सशस्त्र त कहिले निशस्त्र रुपमा जनताले योगदान गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रपछि व्यवस्था परिवर्तनको एजेन्डा सकिएको छ, जनताको अवस्था बदल्ने चुनौती बाँकी छ ।
देशैभर जस्तै कास्की २ मा पनि गठबन्धनका उम्मेदवार अब देशलाई बलियो स्थिर सरकार दिँदै जनताको अवस्था बदल्ने वाचाका साथ मैदानमा छन् । पोखरा १७ छोरेपाटनका स्थानीयसँग गठबन्धनका उम्मेदवार कास्की २ का श्रीनाथ बराल र कास्की २ प्रदेशसभा १ का विश्वप्रकाश लामिछानेले जनताको त्यागको जगमा बनेको गणतन्त्रले अब जनताको अवस्था बदल्ने प्रण गरे ।
लामिछानेले गण्डकी प्रदेश सरकारलाई नमुना बनाउँदै आर्थिक समृद्धिको आधार गठबन्धन नेतृत्वको सरकारले मात्र बनाउने सक्ने दाबी गरे । उनले भने, ‘हामीसँग जनताको जीवन परिवर्तन गर्ने प्रष्ट योजना छन् । ती योजना कार्यान्वयन गर्दै हामी नमुना प्रदेश बनाउँछौं ।’
उनले पोखरा उपत्यका नगर विकास समिति, फेवाताल संरक्षण उच्च स्तरीय छानबिन समिति, ताल संरक्षण समितिमा जस्तै कामयावी योजना बनाउने र ती योजना कार्यान्वयन गरी अहिलेकै पुस्तालाई समृद्ध नेपाल देखाउने वाचा गरे ।
कास्की क्षेत्र न २ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले भूगौलिक अवस्था बुझेर बन्ने पर्यटन र कृषिकै योजनाबाट देशले आर्थिक फड्को मार्न सक्ने जनाए । उनले भने, ‘जितपछि घोषणापत्र कार्यान्वयन गर्छौं, जनताका समस्या नै हाम्रा एजेन्डा बन्नेछन् ।’













