पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

केन्द्रभाग मिडिया

तस्वीर : प्रेस संयोजक माधव बरालको फेसबुकबाट

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका जिसी आज अस्पतालबाट घर डिस्चार्ज भएको जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिएका हुन् ।बरालको अनुसार मेयर जिसी अब केही दिनमा पोखरा आउनेछन् ।

उनको शल्यक्रिया सफल भएको र टाउकोमा लगाइएको टाँका पनि खोलिएको बरालले बताए । कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो ।

मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गरिन्छ । भित्री घाउ ठिक भएपछि सो हड्डी प्रत्यारोपण गर्ने गरिन्छ । फिजियोथेरापी बाहेक अन्य सबै उपचार पूरा भएको छ ।

जिसी साउन १ गते एक्कासी बिरामी भएपछि उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा जिसीलाई मस्तिष्कघात भएको चिकित्सकले बताएका थिए।

उनको दाहिने मस्तिष्कको नसा ब्लक भएको र सोही कारण उनको शरीरको देब्रे पाखो नचल्ने समस्या देखिएको थियो । त्यसपश्चात उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको न्युरो अस्पताल लगिएको थियो ।

  • १९ आश्विन २०७८, मंगलवार १४:१३ प्रकाशित