निर्वाचनको दुष्प्रचार गर्ने कुचेष्टा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

सोमवार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैलेपनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरे ।

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।

उनले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनैपनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरुको ध्यानाकर्षण गराएको बताए ।

उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचनाहरु प्रचारप्रसार गरिदिन आग्रह गरे ।

  • २१ कार्तिक २०७९, सोमबार १६:५६ प्रकाशित