पोखरा ।
कास्की क्षेत्र न. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे ।
उम्मेदवार बरालसँग स्थानीय खड्कबहादुर साहीले फिर्के खोलाले आफूहरुको उठिवास लगाउन लागेको दुःखेसो पोखे । साहीले भने, ‘खोलाले दिनुसम्म दुःख दिएको छ । यो समस्या लिएर वडा कार्यालयमा पटक–पटक धाउँदा वास्तै गर्दैनन् । जनप्रतिनिधिले अर्के भूगोलको मान्छेजस्तो व्यवहार गर्छन् ।’
‘अब तपाइँले यस्तो गुनासो गर्ने अवस्था आउँदैन । तपाइँसंग म छु, हामी छौं । समस्या समाधानमा म सहयोग गर्नेछु । निर्वाचन सकिएपछि उहाँहरुसंग सम्पर्क गर्नुहोला’, वडाका प्रत्यासी उम्मेदवार प्रमोद कोइराला र नेपाली कांग्रेसका जिल्ला सदस्य विजयालक्ष्मी कोइरालालाई देखाउँदै उम्मेदवार बरालले भने ।

‘ प्रस्याङ-रातामाटा-लम्भीडाँडा क्षेत्रका स्थानीयले भलबाढी समस्याले वर्षेनी सताउने गरेकोले समस्या समाधानका दागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तै, धारापानी ‘क’, ‘ख’ र ढुंगेखोला-बाँसटारी क्षेत्रमा मतदाताले सडक, नालाका साथै भलवाढीका समस्या उम्मेदवार बराललाई सुनाएका थिए ।
जवाफमा उम्मेदवार बरालले जनताका यी समस्यालाई आफ्नै समस्या ठानी समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । घरदैलोका क्रममा उम्मेदवारबरालले राजनीतिक आस्थाका आधारमा कसैमाथि पनि भेदभाव नगर्ने प्रतिवद्धता जनाएका छन् ।
घरदैलोका क्रममा उम्मेद्वार बरालले पोखरा–५ मा फरक अनुभूति भएको प्रतिक्रिया दिए ।












