काठमाडौं ।
निर्वाचन आयोगले शिर्ष दलका शिर्ष नेतालाई चुनाव प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न पाउने अधिकार दिएको छ। आयोगले
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ । प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन् ।
एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार एमालेले हिजो आयोग पुगेर अनुमति लिएको हो । अनुमति लिएसँगै अब ओलीले हेलिकोप्टर प्रयोग गर्न पाउने छन् । देउवाले भने यसअघि नै अनुमति लिइसकेका छन् । उनीहरुले सरकारी हेलिकोप्टर भने प्रयोग गर्न पाउने छैनन् ।
पार्टीका मुख्य प्रचारकले हेलिकोप्टर प्रयोग गर्न पाउने निर्वाचन आचार संहितामा उल्लेख छ । हेलिकोप्टर प्रयोग गरे पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहनुपर्छ । अन्यथा आयोगले कारबाही गर्छ ।













