पोखरा ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले १५० सिट जित्छु भन्नु वाहियात भएको बताएका छन् ।
उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनको हर्कत नसच्चिएसम्म सहकार्यको सम्भावना शुन्य रहेको जिकिर गरे । उनले ओलीले एमालेले १५० सिट जित्छु भनेर गरेको दाबीलाई वाहियात कुराको संज्ञा दिए । उनले ओलीलाई आफूले चिनेको व्यक्तिको रुपमा भन्दा अत्यन्तै व्यक्तिवादीको रुपमा चित्रण गरे ।उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा एमाले र माओवादीबीच सरकार बनाउनेबारे कुनै सहकार्यको सम्भावना नरहेको जिकिर गरे ।
आफ्नो नेतृत्वमा देशमा विकास र समृद्धिको यात्रा सुरु हुने पनि बताए । उनले भने,‘अहिले देशभरि पनि मैले जनताको भावना विकास र समृद्धिको यात्रा प्रचण्डले सुरु गर्छ कि क्या हो ? भन्ने विश्वास चाहीँ बढ्दै गएको देखेको छु । अवसर आएपछि म पछि हट्नेवाला त छैन । तर, म त्यसकै लागि मरिहत्ते चाहीँ गर्दिनँ ।’
आज विहान गोरखाको भच्चेकमा प्राइम टिभीको चुनावी अभियान मंसिर ४ महासंग्राममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।













