पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको शीर ठाडो पार्नेगरी काम गर्न आफू उम्मेदवार बनेको बताएका छन् । पोखरा २१ निर्मलपोखरीमा शनिबार निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कास्कीमा विकासका दृष्टिकोणले केन्द्रमा पहुँचको आधार बेलाबखत खड्केको चर्चा गरेका उनले त्यो अभाव आफूले पुरा गर्ने बताए । कास्की र पोखरामा विकास पूर्वाधार निर्माणका लागि केन्द्रमा सिधै पहुँचको अभाव रहेको टिप्पणी हुनेगरेको तर्क प्रति संकेत गर्दै उनले आफूले त्यसको पूर्ति गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पु¥याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’
उनले पोखरा २१ मा केही मात्रमा खानेपानीको मागलाई सम्बोधन गरिएपनि व्यवस्थित गरेर अझै भरपर्दोढंगले आपूर्ति गर्नेकुराका सुनिस्चितता जनताले खोजेको बताए । त्यो काम आफ्नो प्राथमिकतामा पर्ने उनले बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा केही सुविधा पुगेको कोर सहरी क्षेत्र, महानगर घोषणा भएको तर पूर्वाधारका हिसावले धेरै पिछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले निरास बनेका जनतालाई उत्साह भर्न आफूहरु चुनावी मैदानमा आएको बताए ।
विगतमा प्रदेश र केन्द्रमा समेत प्रतिनिधित्व गरेका जनप्रतिनिधिले जनतामा निरासा ल्याएपनि आफूहरुले त्यस्तो हुन नदिने उनले प्रतिवद्धता जनाए । ‘जनताको निरासालाई आशामा परिणत गर्न चुनावी मैदानमा आएका हौं । यहाँबाट विगतमा विभिन्न डाउँमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले के गरे यहाँहरुले हेर्नुभएकै छ ।’ उनले भने, ‘विगतमा उत्यका नगरविकास समितिको नेतृत्व गर्दा होस् वा अम्मरसिंह माविको व्यवस्थापन समितिको अध्यक्ष बन्दा होस् अथवा अन्य स्थानमा जहाँ जहाँ नेतृत्व गर्ने अवसर प्राप्त भयो । त्यो फेवातालको किन नहोस् । केही भिजन र योजनाहरु तपाईहरुको बीचमा छाडेको छु । त्यसलाई पुरा गर्ने ठाउँमा तपाईहरुले पु¥याउनु हुनेछ । काम गर्ने अवसर प्राप्त हुनेछ ।’
कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङले पाँच वर्षमा मत मार्फत जनताले सामथ्र्य देखाउने अवसर आएको बताए । उनले दिएको जिम्मेवारी पुरा नगर्ने अनि संसद र संविधान माथि आक्रमण गर्नेलाई जनताको तागतले देखाइदिनुपर्ने धारणा राखे ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, कांग्रेस नेतृ एवं समानुतिक उम्मेदवार वृन्द्धा राणा, नेपाल समाजवादी गण्डकीका अध्यक्ष किरण थापा, कांग्रेसका युवा नेता दिनेश आचार्य लगायतका नेताहरुले उक्त अवसरमा सम्बोधन गरेका थिए ।













