आकाशियो च्याङग्राको भाउ : रोज्जा च्याङग्राको मूल्य ४५ हजार माथि!

केन्द्रभाग मिडिया

बागलुङ ।

नेपालीको महान चाड वडादशैँ आएसँगै जडीबुटी खाएका च्याङग्रा खरिदका लागि व्यापारीहरु मुस्ताङ जान थालेका छन् ।

दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि बागलुङ,पर्वत, म्याग्दी, पोखरा लगायता आसपासका व्यापारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गर्छन् । व्यापारीहरुले हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउने गर्छन् । कोभिड संक्रमणका कारण भाउ महँगिएकाले यस वर्ष व्यापारी कमै च्याङ्ग्रा ल्याउने भएका छन् । बागलुङमा यस वर्ष सय÷डेढ सय च्याङ्ग्रा भित्रने देखिएको व्यापारी बताउँछन् ।

जोमसोममै च्याङ्ग्राको मूल्य दश हजारसम्म बढेको बताइएको छ । मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य ४० हजारसम्म पुगेकाले ल्याएर बेच्दा त्यसको मुल्य ४५ हजारमाथि पुग्ने देखिन्छ ।

दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा बागलुङ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् ।

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । पछिल्ला चार वर्षमा २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।

  • १८ आश्विन २०७८, सोमबार १३:४२ प्रकाशित