सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित कार्यक्रममा मन्त्री कार्कीले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढ्नेमा जोड दिए । नेपाली कांग्रेससहित वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी–४ का उमेदवार रहेका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनतासामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको दावी गरे ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउदै, अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरे । देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्पपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिबद्धता गरे ।
उनले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफ्नै पहलमा हुन लागेको जानकारी दिए ।













