आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

केन्द्रभाग मिडिया

पोखरा ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज जरिवाना रकम बुझाउन सक्ने भएका छन् ।

प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारलाई जरिवाना बुझाउन आजसम्मको समय दिइएको थियो । आज अन्तिम दिन शनिवार विदा परेपछि जरिवाना बुझाउन चाहनेलाई लक्षित गर्दै कार्यालय खुलाइएको हो ।

उम्मेदवारले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सक्ने आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूलाई प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।

  • ५ कार्तिक २०७९, शनिबार १३:३८ प्रकाशित