पोखरा ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा एउटा कामका लागि तीन वटा लाइन बस्नुपर्ने झन्झट बाट सेवाग्रही मुक्त भएका छन् ।
बुधबारबाट एकै ठाउँबाट कर तिर्ने व्यवस्था मिलाइएको यातायात कार्यालय प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । ‘कार्यालयमा आएपछि सेवाग्राहीले सुरुमा करको मुल्यांकन गराउन लाइनमा बस्नुपर्ने थियो । त्यसपछि बैंकमा राजश्व दाखिला गर्न बैंकमा लाइन बस्नुपर्ने थियो । र अन्तिममा नविकरणका लागि इन्ट्रि गराउनुपर्ने अवस्था थियो । अब ति सबै बाध्यतालाई हटाएर एकै ठाउँमा भिआरएस गर्ने र राजश्व बुझ्ने काम भएपछि सेवाग्राही झन्झटबाट मुक्त हुनुभएको छ’ उनले भने ।
बुधबार मोटरसाइकलको कर तिर्न कार्यालय आएका पोखरा विन्ध्यवासिनीका शंकर सुवेदीले सेवा सुधारले झन्झटबाट मुक्त भएको र काम पनि समयमै सकिएको भन्दै खुशी प्रकट गरे । ‘मलाई निकै खुशी लागेको छ । पहिले दिनभर लाइनमै वित्थ्यो । यता र उता गर्नुपर्ने बाध्यता थियो । अहिले भने निकै सुधार भएको रहेछ’ उनले भने ।
झण्डै तीन लाख सेवाग्राही
यातायात व्यवस्था कार्यालय सवारी गण्डकीमा दर्ता हुने सवारीसाधनको संख्या झण्डै तीन लाख पुगेको छ । यसमा अधिकांस दुई पांग्रे सवारीसाधन छन् ।
सवारीसाधन थपिँदै जाने जनशक्ति सिमित हुने र प्रविधिको प्रयोग नगर्दा समस्या रहेको प्रमुख रिजाल बताउँछन् । आफूले सेवाग्राहीको सुविधाका लागि सक्दो प्रयास गरेको उनले बताए ।
यद्यपी केन्द्रीय प्रणालीमा नै सुधार नहुँदा समस्या आएको उनले सुनाए । ‘सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दो छ । प्रविधिको प्रयोग नगर्ने अनि उही ढड्डामा चाढाउने र तीन ठाउँमा लाइन लगाउने बाध्यताले सेवाग्राहीको चाप थेगिनसक्नु थियो । अब यसलाई व्यवस्थित गरेपछि ग्राहकले झन्झट बेहोर्नुपर्दैन ।
कार्यालय थप व्यवस्थित भएको छ’ उनले भने, ‘तर अझै गनुपर्ने धेरै छ । हामीले अनलाइन प्रणालीमा जाने प्रयास गरेका थियौं । केन्द्रबाट नै सिस्टममा सुधार नहुँदा समस्या छ । अहिले ढड्डा खोज्नुपर्ने झन्झटबाट भने सेवाग्राही मुक्त हुनुभएको छ ।













