नवौँ राष्ट्रिय खेलकुद : ८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

केन्द्रभाग मिडिया

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।

पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते ।पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ ।

प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु प¥यो ।

नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे ।यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए ।

पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

महिला बास्केटबलको काँस्य गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो ।

प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो ।

गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् ।मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो ।प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।


ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् ।

उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते ।पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे ।

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते ।

टेनिस मेन्स डवल्समा गण्डकीलाई स्वर्ण

टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।

सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो ।

यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।

  • २ कार्तिक २०७९, बुधबार ११:२३ प्रकाशित