पोखरा ।
अभिनास तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले हराउँदै प्ले अफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।
जितसंगै सविनको ८ खेलबाट १३ अंक रहेको छ । समान खेलबाट प्रभातफेरीको भने ७ अंक रहेको छ । खेलको ५ औं मिनेटमा सविनका लागि अभिनाष तामाङले अग्रता दिलाए । उनले १२ औँ मिनेटमा २ गोल गर्दै ह्याट्रिक पुरा गरे ।
प्रभातफेरीले पनि खेलको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । एक्लेस कार्कीले गोल गर्दै बराबरी गरेका थिए । ११ औँ मिनेटमा डोना थापाले गोल गर्दै प्रभातफेरीलाई केहि सेकेन्डका लागि २–१ को अग्रता दिलाएका थिए । तर अभिनाषले १२ औँ मिनेटमा त्यो अग्रता तोडिदिए ।
यस्तै खेलको १८ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै पुनः खेलक ३–३ को बराबरीमा ल्याएका थिए । पहिलो हाफ ३–३ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने सविनले ५ गोल गरेको थियो । खलको २२ औं र २३ औँ मिनेटमा अभिनाषले लगातार गोल गर्दै अग्रता बढाउने काम गरे ।
अभिनाषले ३० औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक गरे । ह्याट्रिक संगै अभिनाष लिगकै सर्वाधिक गोलकर्ताको सुचिमा यथावत रहे । उनले हालसम्म १८ गोल गरेका छन् । उनी लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने ।
उनी खेलको म्यान अफ दि म्याच समेत हुन् । खेलको ३१ औं मिनेटमा सविनका मनोज गुरुङले गोल गर्दै सविनलाई जित नजिक पु¥याए । ३९ औं मिनेटमा प्रभातफेरीका डोना थापाले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै ४० औं मिनेटमा सविनका मनोजले व्यक्तिगत दोस्रो गोल गरे ।
आइतबार नै भएको अन्य खेलमा ढुकु फुटसल हवले मछिन्द्र स्काइ गोल्सलाई ७–५ गोल अन्तरले पाखा लगायो । ढुकुको जितमा विक्रान्त नरसिंह रानाले ४, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक/एक गोल गरे । उता मछिन्द्रकालागि अमित तामाङले २ तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले गोल गरे । अन्तिम खेलमा शंखमुल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।