निर्वाचन आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निमार्ण

केन्द्रभाग मिडिया

काठमाडौं ।
निर्वाचन आयोगले ऐन कानूनअनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दाबी गरेको छ।

शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन संयन्त्रमाथि विभिन्न प्रकारका टीकाटिप्पणी भइरहेको भन्दै कसैले रोइलो गर्दैमा आयोगको संवैधानिक र कानूनी अधिकारमा नियन्त्रण गर्ने कुरा स्वीकार नगर्ने स्पष्ट पारे।

उनले अनुमगनका विषयलाई लिएर आमसञ्चारको मर्म नबुझेको भन्दै आयोगको मर्यादामाथि प्रहार भएको जानकारी प्राप्त भएको बताए।

आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रता विषय राम्ररी पढेको भन्दै आम सञ्चारमाध्यमलाई निगरानी गर्ने कुनै उद्देश्य नभएको उनले बताए। थपलियाले मर्यादित संस्थाहरूबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर विषय भएको धारणा राखे।

कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ। यद्यपी तत्कालका लागि कर्मचारीहरू भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाइ छ। उनीहरू नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए।

  • २८ आश्विन २०७९, शुक्रबार २१:०० प्रकाशित