गठबन्धनका नेतालाई देउवाले भने, ओलीसँग सहकार्यको सम्भावना छैन

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष ओलीबीच फेरि सहकार्य हुन लागेको हो ? भन्ने विषयमा नेताहरुले प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार ‘अर्ली ईलेक्शन’ गर्न प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच सम्वाद भएको विषयमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई प्रश्न सोधेका थिए ।

देउवाले त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले भने–‘यो नचाहिने कुरा हो । अहिले ओलीसँग सहकार्यको कुनै सम्भावना छैन् । यो गठबन्धनलाई नै चुनावसम्म लैजाने हो । यहाँ संविधान जोगाउने कुरा ठूलो हो ।’

पछिल्लो समय एमाले नेताहरुले मुलुक अब अर्ली ईलेक्शनमा जाने दाबी गरिरहेका छन् । यही बीचमा प्रधानमन्त्री देउवाले आफ्नो दूतका रुपमा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ओलीसँग भेट्न पठाईरहेका छन् ।

मन्त्री कार्कीसँगको भेटमा पनि ओलीले यो संसद्बाट निकास नआउने भन्दै जतिसक्दो चाँडो मुलुकलाई निर्वाचनमा लैजानुपर्ने कुरा गरेको सुनिएको छ ।

तर, मन्त्री कार्कीले भने यसबारेमा कुनै छलफल नै नभएको बताउँदै आएका छन् । गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री देउवा र ओलीबीच सहकार्यको आशंका गरेपछि देउवाले बैठकमा त्यस्तो कुनै सम्भावना नभएको र त्यो हल्लामात्रै भएको जवाफ दिएका छन्

  • १७ आश्विन २०७८, आईतवार १५:०७ प्रकाशित