इन्टरनेटको तार काटेको भन्दै क्यान महासंघको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानहरुमा इन्टरनेटको फाइबर तार काट्दा देशका अधिकांश ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले खेद प्रकट गरेको छ।

क्यान महासंघका महासचिव नारायण थापाद्वारा जारी विज्ञप्तीमा विद्युत प्राधिकरणको उक्त कार्यविरुद्ध क्यान महासंघले प्रधानमन्त्री एवं सञ्चार मन्त्रीका साथै सञ्‍चार मन्त्रालयलाई हस्तक्षेपकारी, अभिभावकीय एवं नेतृत्वदायी भूमिकाका निम्ति अनुरोध गरेको छ।

इन्टरनेट तथा दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका साथै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विद्युत प्राधिकरणले तार काटेकोमा चर्को असन्तुष्टि जनाइरहेको अवस्थामा क्यान महासंघले पनि त्यसलाई ऐक्यबद्धता जनाएको छ।

विद्युत प्राधिकरणले नियोजित रुपमा भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढीलगायतका स्थानहरुमा इन्टरनेट सेवा प्रदायकहरुका फाइबर तार काटेको तथा सोही कारण अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा पुगेको अवरोधप्रति क्यान महासंघले पनि विरोध जनाएको छ।

विद्युत प्राधिकरणले बढाएको पोल भाडादरका कारण इन्टरनेट सेवाको शुल्क बढ्ने भएकाले त्यसो हुन नदिन क्यान महासंघले संचार मन्त्रालय, दूरसंचार प्राधिकरण, विद्युत प्राधिकरणलगायतका सरकारी निकायहरु एवं निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुकाबीचमा परिणाम उन्मुख छलफलको लागि अनुरोध गरेको छ।

क्यान महासंघले इन्टरनेट सेवालाई सरकारले अत्यावश्यक सेवामा समावेश गरेर हड्ताल निषेध गरेको भएपनि अन्य संस्थाहरुको गतिविधिका कारण इन्टरनेट सेवा प्रवाहमा अवरोध पुगेको भन्दै यस्ता गतिविधि गर्नेलाई पनि आवश्यक जरिवाना तथा सजायको प्रावधान राख्नुपर्ने माग गरेको छ।

क्यान महासंघले विद्युत प्राधिकरणलाई समस्या समाधानका निम्ति संयमता अपनाउँदै छलफलको बाटो रोज्न आग्रह गरेको छ। साथै, इन्टरनेट सेवा प्रवाहमा कुनै पनि अवरोध नपुर्‍याउन अनुरोध गरेको छ।

लामो समयदेखि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल तथा फाइबरको बक्यौता रकम भुक्तानी नगरेको भन्दै विद्युत् प्राधिकरणले इन्टरनेटका तार काटेको हो । प्राधिकरणले यसअघि नै विभिन्न समयमा ३ पटक सार्वजनिक सूचना नै प्रकाशन गरी यही असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने चेतावनी दिएको थियो । सोही अनुसार १६ गतेदेखि प्राधिकरणले तार काटेको हो ।

  • १७ आश्विन २०७८, आईतवार १४:२५ प्रकाशित