राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित जिल्ला नुवाकोटको अवलोकन, सुने बाढी पीडितको गुनासो

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासोसमेत सुनेका छन्।

उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जानकारी जिल्ला सुरक्षा समितिबाट लिएका छन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरे। प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराए। खोज, उद्धार, राहत एवम् पुनर्स्थापनाका लागि सरकार र सरोकारवालाहरूले अझ तदारुकता देखाउनुपर्ने धारणा प्रभावितहरूले राखेका थिए।

राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्।

  • २२ भाद्र २०८३, सोमबार १३:५० प्रकाशित