पोखरा ।
आज २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवश, नेपालमा पनि पर्यटकीय नगरी पोखरासहित देशैभर पर्यटकीय स्थलहरुमा विभिन्न कार्यक्रम गरेर दिवश मनाइँदै छ ।
पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा ४३ औं पर्यटन दिवश विभिन्न कार्यक्रमका साथ मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार विहान ७ बजे पोखरा विमान स्थलमा हवाइ उडान मार्फत पोखरा भित्रने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अबलोकन, अन्तरक्रिया कार्यक्रम र दिउँसो पोखराको राष्ट्रबैंक चोक स्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । यसका साथै पोखरा स्थिति विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवश मनाउँदै छन् ।