राष्ट्रिय ए डिभिजन फुटसल लिग : लुम्बिनी पनि रेलिगेसनमा

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो ।

जितसंगै राइजिङको ८ खेलबाट १६ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीको समान खेलबाट ४ अंक मात्रै रहँदै रेलिगेसनमा परेको हो ।

राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाक,सुदिप गुरुङ, हेमन्त थापा मगर र मिलन राइले गोल गरे । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिस शर्माले गोल गरे ।

शनिबार भएको दोस्रो खेलमा स्पोट्र्स क्यासलले फुटसल ५ धरान विरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो । खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो । धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए ।

खेलको १० औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिएपनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४ औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाए ।

निकै दबाबमा परेको क्यासलका सुमित श्रेष्ठले ३७ औँ मिनेटमा बराबरी गोल फर्काए । क्यासलका कप्तान अञ्जन देवकोटाले ४० औँ मिनेटमा गोल गर्दै जित दिलाए । खेल सकिए लगत्तै केहीबेर विवाद समेत भयो ।

धरानका प्रशिक्षक तथा खेलाडीहरु रेफ्रीमाथि जाइलाग्न खोजेपछि रेफ्रीले प्रशिक्षक विश्वास लामा, म्यानेजर जिवन आले मगर र सुजन खड्कालाई रातो कार्ड दिए ।

यस अघि धरानका गोलरक्षक धिरज तामाङले रातो कार्ड पाएका थिए । यो लिगकै सबैभन्दा बढि रातो कार्ड देखाइएको म्याच हो । खेलको म्यान अफदी म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।

  • १६ आश्विन २०७८, शनिबार २०:३२ प्रकाशित