काठमाडौं ।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ताथा सभामुख ली चान्सु काठमाडौं आइपुगेका छन्। करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीसहितको टोलीलाई सभामुख अग्नि सापकोटाले स्वागत गरे।
सभामुख सापकोटाले स्वागत गर्दा सुरुमा दुवैजनाले उभिएर अभिवादन गरे। चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।
नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्।सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।
मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।
नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।