नागरिकता विधेयकमा राष्ट्रपतिको राजनीतिक स्टण्ड : प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रपति ठुलै पोलिटिकल विषय बनाउने मोडमा रहेको बताएका छन् । पोखरामा भएको पात्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ,’ उनले भने, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँले यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ यो ‘इस्यु’। अदालतको फैसलापछि त्यो अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन।

प्रचण्डले राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

यस्तै प्रचण्डले अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नतोकिने भन्दै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने बताए। उनले भने, ‘मैले त भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुन सक्थेँ। ०७४ को निर्वाचन लगत्तै पनि पाँचै वर्षका लागि मेरो ढोका खुला थियो। तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएर छाडेको हो।’ अहिले पनि प्रधानमन्त्रीको कुरामा छलफल नभएको उनको भनाइ छ।

अहिले पनि आफू प्रधानमन्त्री बन्ने चाहना राख्दा हुने स्थिति भएको उनले खुलाए। ‘तर, म अहिले हुँदिन, त्यो देश र जनताको लागि पनि फाइदाजनक हुँदैन,’ प्रचण्डले भने, ‘त्यसकारण म यो रेसमा छैन।’

  • २४ भाद्र २०७९, शुक्रबार ११:४४ प्रकाशित