ब्युरोकेसीको जबसम्म सहयोग हुँदैन देश अघि बढ्नै सक्दैन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन् । आज बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताए । कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? व्यापक छलफल गरौँ । हामी त पाँच वर्षका लागि हो । हार्ने जान्छ, जित्ने आउने हो । तपाईँहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । एउटा बाटो बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्युरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन ।’

प्रधानमन्त्री देउवाले पालिका, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए ।

  • २२ भाद्र २०७९, बुधबार १४:०७ प्रकाशित