धनगढी ।
डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय डोटी कांग्रेसले गरेको हो।
नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे। गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ।
यहाँबाट गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका थिए।













