कङ्गोमा विवाह समारोहमा आगलागी : २२ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

किन्शासा ।

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ । यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् ।

स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा रहेको विवाह समारोह आयोजना गरिएको भवनमा आगलागी भएको हो । आगलागी हुँदा उक्त भवनमा विवाह समारोह चलिरहेको थियो ।

प्रारम्भिक विवरणअनुसार २२ जनाको ज्यान गएको र मृतकको संख्या अझ बढ्न सक्ने लिङ्वाला कम्युनका प्रमुख नोर्बर्ट मुशिङ्गाले घटनास्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् । आगलागीबाट भवनभित्र रहेका विभिन्न सामान तथा सम्पत्तिमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई उपचारका लागि किन्शासाका विभिन्न अस्पतालमा लगिएको छ ।

आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । विद्युत् सर्ट हुनु तथा वैवाहिक समारोहको सजावटमा प्रयोग भएको सामग्रीबाट आगो फैलिएको हुन सक्ने सम्भावनालाई विचार गरेर अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन् । एजेन्सी

  • २१ भाद्र २०८३, आईतवार १३:५६ प्रकाशित