पोखरा ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वपधानमन्त्री केपी शर्मा ओली बीच आज भेट भएको भनि आएको सामाचारमा सत्यता नभएको डा. कोइरालाको सचिवालयले जनाएको छ ।बताएको छ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली झापा जानु अगाडि बालकोटमा दुई घण्टा भेटवार्ता भएको कुरा सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।
सचिवालयले कसरी हुँदै नभएको कुरा आयो, त्यो थाहा नभएको बताएको छ । डा. कोइरालाका स्वकीय सचिव दीनेश थपलियाले ओली र डा. कोइरालाको भेट भएको कुरा कपोकल्पित भएको बताए । ‘डा. कोइराला र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बीचमा कुनै भेटवार्ता भएको छैन । भेटघाट भएको कुरा सञ्चार माध्यममा आएका कुराले हामी नै अचम्ममा परेका छौं’ केन्द्रखबरले राखेको जिज्ञासामा उनले भने, ‘भेट भएको कुरा पुरै असत्य हो यसमा कुनै सत्यता छैन ।’
आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग मुख्य तालमेल गरेर अघि बढेपछि कोइरालाले एमालेसँग वार्ता गरेको भन्दै चर्चा भइरहेको बेला थपलियाले कुनै घेट नभएको दाबी गरेका हुन्।
कांग्रेसको चौधौँ महाधिवेशनपछि देउवाले आफूलाई पेलिरहेको गुनासो गरेका शेखरले मंसिरमा हुने निर्वाचनका लागि ४० प्रतिशत उम्मेदवारी दिनुपर्ने माग गरिरहेका छन् । देउवा गठबन्धन दलसँगै वार्तामा केन्द्रित भइरहेका बेला ओली र कोइरालाको भेट भएको सार्वजनिक भएपछि कांग्रेस समग्र राजनीतिक बृत्तमा नै एक खालको तरंग आएको थियो ।













