सासुमाथि बुहारीले कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय बालकलाई प्रहरीले सम्मान गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो ।
पारिवारिक हिंसालाई भिडियोमा खिचेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले उनलाई सम्मान गरिएको हो । शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरिएको हो।
यसअघि सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य ९भिडियो० सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा जैसरा न्यौपानेकी बुहारी देवसरा न्यौपाने र देउरानी धर्मा न्यौपाने रहेका छन् । सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन् ।
सम्मान गरिएका बालक सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् । उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा लुकेर भिडियो बनाएका थिए ।














