पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिववेशनको मिति नजिकिँदै गर्दा व्यावसायीबीच चुनावी सरगर्मी बढेको छ । संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आज प्यानल घोषणा गरेका छन् । केही समय अघि अध्यक्षको उम्मेदवारी घोषणा गरेका पोखरेलले बिहीबार पत्रकार सम्मेलनमार्फत् प्यानल नै घोषण गरेका हुन् ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी सदस्यमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी छन् ।
पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।
संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् । पोखरा अहिले उपाध्यक्ष छन् । पोखरेलले सहमतिको सम्भावना अब करिब करिब सकिएको पनि पत्रकार सम्मेलनमा बताए ।