तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरको वडा नम्बर १४ मा रहेको ल्यान्डफिल साइडमा दैनिक एक सय १० टन भन्दा धेरै फोहोर पुग्ने गरेको छ । महानगरका ग्रामिण भेगको फोहोर स्थानीयले नै व्यवस्थापन गर्ने हुँदा उक्त परिमाणमा ल्यान्डफिल्ड साइड पुग्ने ल्यान्डफिल व्यवस्थापन शाखाका प्रमुख नेत्र प्रसाद तिमिल्सिना बताउँछन् ।

चालु ल्यन्डफिल साइडको विकल्प तत्काल दिनुपर्ने बाध्यतामा महानगर नेतृत्व छ । उक्त ल्यान्डफिल साइड सन २०२० को डिसेम्बरमा नै बन्द गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा महानगरलाई पत्राचार गरेको हो । तर अहिलेसम्म विकल्प के भन्ने टुंगो लागेको छैन ।

आगामी १ जनवरी अर्थात १७ पुसमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनको तयारीमा छ । त्यस अगाडि नै चालु ल्यन्डफिल साइड पुर्नुपर्नेछ । मेयर आचार्यले विमानस्थल सञ्चालनको लागि काट्नुपर्ने रिट्ठेपानीको डाँडा काट्दा निस्कने माटोले चालु ल्यान्डफिल साइड पुर्ने प्रतिवद्धता जाहेर गरेको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिएका छन् ।

अस्थायी रुपमै भएपनि ल्यान्डफिल साइडको विकल्प खोज्ने बताएका मेयर आचार्यका सामुन्ने कसरी फोहोर व्यवस्थापन गर्ने भन्ने विकल्प भने तयार भइसकेको छैन । यस अगाडि छलफलमा आएका र सार्ने तयारी गरिएका भनिएका स्थान वरपरका बासिन्दा विरोधमा उत्रने प्रबृत्ति ल्यान्डफिल साइड व्यवस्थापनको सबैभन्दा ठूलो समस्या बनेको छ ।

स्थानीयको विरोध हुनेहुँदा धेरै जमिनमा भन्दापनि अब थोरै जमिनमा इनडोर प्लान्ट राखेर व्यवस्थापन गर्ने विभिन्न प्रस्तावको विषयमा छलफल भइरहेको महानगर सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । उनको अनुसार विभिन्न ५÷६ वटा मेडेलमा फोहोर व्यवस्थापनका लागि छलफल चलिरहेको छ । यि सबै मोडेल मध्येमा उत्तम विकल्पमा महानगरले फोहोर व्यवस्थापन गर्ने उनले बताइन् ।

मेयर आचार्य यि सबै उपाएको बारेमा छलफलमै रहेको र एउटा निस्कर्षमा छिट्टै पुगिने उनले दाबी गरिन् । ‘हामीले तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्नेछ । विभिन्न ५/६ वटा मोडेलमा पोखराको फोहोर व्यवस्थापन गर्ने उपाए खोजिँदैछ । मेयरसाबकै अग्रसरतामा यि मोडेलका विषयमा निरन्तर छलफल भइरहेको छ । थोरै जमिनमा दीगो व्यवस्थापन र फोहोरलाई समस्याको रुपमा नभई अवसरको रुपमै उपायोग गर्ने उद्देश्य राखेर मेयर साव अगाडि बढिरहनुभएको छ । हामी छलफल मै छौं’ उनले भनिन् ।

  • सिंगो पोखरामा दैनिक दुई सय टन फोहोर उत्पादन

पोखराको जनसंख्यालाई विश्लेषण गर्दा यहाँ दैनिक दुईसय टनको हाराहारीमा फोहोर उत्पादन हुने ल्यान्डफिल्ड व्यवस्थापन शाखाका प्रमुख तिमिल्सिनाले विश्लेषण सुनाए । उक्त फोहोर मध्ये ६४.७४ प्रतिशत कुहिने फोहोर, १४.५७ प्रशोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने फोहोर र २०.६९ प्रतिशत फोहोर ल्यान्डफिल्डमा लैजानैपर्ने फोहोर हो । कुहिने फोहोरलाई कम्पोष्टमलको रुपमा प्रयोग गर्न सकिने र प्रशोधन गर्न सकिने फोहोरको उपयोग गर्नेगरी काम हुन नसक्दा सहरी क्षेत्रको अधिकांस फोहोर ल्यान्डफिल्ड साईडमा लैजाने गरिएको छ ।

विसं २०६१ माघमा निर्माण भएको ल्यान्डफिल साइड दुई सय रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये ८० रोपनीमा फोहोर जम्मा गरिन्छ । ३० रोपनीमा ट्रिटमेन्ट प्लान्ट छ । मेडिकल वेष्ट ट्रिटमेन्टका लागि १५ रोपनी जमिन छुट्याइएको छ । बफरजोन घेरा, बाटो र अन्य पूर्वाधारहरु ७५ रोपनी क्षेत्रफलमा छ ।

  • दैनिक १५ टन फोहोर खोला, खोल्सा र सर्वजनिक स्थलमै फालिन्छ

पोखरामा दैनिक रुपमा झण्डै १५ टन फोहोर खोलानाला र सार्वजनिक स्थलमा जथाभावी फल्ने गरेका छन् । पोखरामा सफाई अभियानका अभियान्ता रामबहादुर पौडेलका अनुसार कुहिने, नकुहिने र पुन प्रशोधन गरेर प्रयोग गर्न मिल्ने सबै प्रकारको फोहोर यसरी नगरवासीले फाल्ने गरेका हुन् ।

यसलाई पोखरा महानगरका ल्यान्डफिल्ड व्यवस्थापन शाखाका प्रमुख नेत्रप्रसाद तिमिल्सिनाले स्विकार गरे । ‘हो पोखरामा १५ प्रतिशतको हाराहारीमा फोहोर सर्वजनिक स्थलमा फालिने गरेको सत्य हो,’ उनले भने । यस्तो फोहोर पोखराका सडक गल्ली, खोल्सा र खोलामा पुग्ने गरेको छ । पोखराको फिर्के, बुँलौंदी र सेतीनहरमा फालिने फोहोर फेवातालमा पुग्दा तालको तल्लो भाग निकै नै प्रर्दुशित बनेको सरोकारवालाहरु बताउने गर्छन् ।

 

  • २८ श्रावण २०७९, शनिबार ०९:०५ प्रकाशित