पोखरा ।
पोखरामा अनुदानमा प्राप्त मलमा पनि अनियमितता पाइएको छ । पोखरा गगनगौंडास्थित कृषि सामग्री भण्डार केन्द्रले अनुदानमा आएको मलमा अनियमितता गरेको पाइएको हो ।
उक्त केन्द्रले अनुदान बाहिरको मल खरिद नगरे अनुदानको मल नदिने र अनुदानकै मलमा पनि तोकिएभन्दा धेरै मूल्य लिएर विक्री गरेको पाइएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालको नेतृत्वमा बुधबार भएको अनुगमनका क्रममा उक्त केन्द्रले अनुदानमा ल्याएको मलमा अनियमितता गरेको पाइएको हो ।
अनगुगमनमा सहभागी उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले गगनगौंडा स्थित कृषि सामग्री केन्द्रले अनुदानमा आएको मलमा अनियमितता गरेको पाइएको जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा खरिद गरेको मलको विवरण उपलब्ध गराउन भनेकामा उक्त केन्द्रले उपलब्ध गराउन सकेन । उक्त कृषि सामग्री केन्द्रलाई दुई दिनभित्र कागजातसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ ।
सरकार मार्फत साल्ट ट्रेडिङले केन्द्रलाई अनुदानमा दिएको युुरिया मलको स्टल मेल नखाएको, केन्द्रले ३० बोरा लगेकोमा १० बोराको मात्र हिसाव देखाएकाले अरु अन्तै बेचिएको आसंका गरिएको कोइरालाले बताए । उनका अनुसार बुधबार अनुगमनका क्रममा विरौटाका केही पसलमा मूल्यको अभिलेख नराखेको र म्याद सकिएका खाद्यान्न राखेको पाइएको छ ।
म्याद सकिएका सामान नष्ट गरिएको थियो । बजारमा मूल्य घटेर आएको खाने तेल पुरानै मूल्यमा अधिकतम मूल्य देखाउँदै बेचेको पाइएको र यस्ता कुरामा उपभोक्ता सचेत भएर घटेको मूल्यमा किन्न र सचेत हुन उनले आम उपभोक्तालाई आग्रह गरेका छन् ।
अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो, प्रदेशका प्रतिनिधि, महानगरका प्रतिनिधि, खाद्यय निरीक्षक, नापतौल विभागका प्रतिनिधि, उपभोक्ता मञ्च र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।